Category Archives: Personal

नितान्त ब्यक्तिगत

प्रीय बर्ष २०७४ साल,
मान्छेले बनाएको समयको यो भागमा तिमी २०७४ साल भनेर नामकरण भएका छौ, होइन भने सृष्टिको नीयममा दिन र रातसहीतको क्षणमात्र बर्गीकरण हो भन्ने मलाई लाग्छ । तिम्रो ३६५ वटा दिनमा आज अन्तिम रात म यो सम्बोधन गर्दैछु । मनभरी बसेको, आँखा भरी सजिएको अनि मुटुभरी छाएको यादहरुको समर्पण तिम्रो नाममा । जिन्दगीका हरेक बर्षहरु भन्दा पृथक, प्रष्ट र प्रत्युष जस्तै बन्यौ । जन्मेदेखी मृत्यु सम्मको दुरीमा थाहा छैन मलाई, तिम्रो अस्तित्व जिन्दगीको कुन भागमा छ, तिमी बिचमा छौ या अन्तिममा छौ । तर म यत्ती भन्न सक्छु जिवनको एक अंहम र महत्वपूर्ण बर्ष हौ तिमी । जिवनमा केही यस्ता समय वा घटना हुन्छन्, जुन बर्षौ बितेपनि हिजो अस्ति झैं लाग्छ अनि केही यस्ता हुन्छन् जुन हिजो अस्ति घटेपनि यादबाट सयौं दुरी टाढा रहन्छन् । यी दुवै स्थिती र परिस्थीती तिमीले दिएर गएका छौ । सागरको खोँचदेखी सगरको उचाई सम्म पुर्याएका छौ । कति विषयमा जिवनले गहनता हासील गर्यो । कतिमा जिवन सतहमा मात्र रह्यो । कतिमा जिवन आफै डुबुल्की मार्यो । यो सब तिमीले दियो ।
बषौैदेखीका कतिपय मान्यताहरु आँखा अगाडी धुजा धुजा भए । वरीपरी मजबुत बनाएर राखेका विश्वासका पर्खालहरु पनि एक एक गरेर झरे । अनि आफैले हिँडेर आएको बाटो फर्केर हेर्दा आफै झस्किएँ । कहिलेकाहीँ जिवनमा सबैतीर अन्धकार हुँदा पनि आफैमाथीको विश्वासको तेजले एउटा आसाको बाटो देखाउँछ । हो म त्यही आसाको बाटो पछ्याउँदै हिँडे । जिवनमा कहिँ कतै प्राथमीकतमा नपरेका सामान्य ठानेका मान्छेहरु साँच्चै सह्रदयी र सहयोगी भएर आए । कसैले देखाएको आत्मियता र सह्रदयताको विशाल छातीले आकासको आयतनलाई पनि कम आँकीरहेको थियो । जिवन सिकाई र भोगाइहरुको संगालो न हो । कतै खुशी कतै दुख कतै सफलता कतै असफलता । यी र यस्तै यती धेरै सोच्ने र भोग्ने विषय हुन्थेन भने मान्छेको जिवन कसरी चल्थ्यो होला र । यो सबै यात्रामा कतिपय अवस्थामा आफ्ना आशयलाई अरुले अनर्थ लगाइदिँदा चित्त दुख्छ, आफ्ना ब्यवहारलाई अनुकुलतामा ब्याख्या गरिदिदा मन दुख्छ । म चाहीँ कोही कसै भन्दा फरक कसरी हुन्थेँ र । त्यसैले यती लाग्छ जिवनमा कोही कसैलाई राम्रो गर्न सकिदैन भने म नराम्रो गर्दीन, राम्रो भन्न सक्दिन भने पनि म नराम्रो भन्दीन, राम्रो सोच्न सक्दिन भने पनि म नराम्रो सोच्दीन ।
२०७४ सालले जिवनलाई केही फरक लयमा लगेको छ । वस्तु, घटना र समयलाई हेर्ने द्रष्टि दरिलो भएको छ, सोच सुद्रढ भएको छ, मन द्रढ भएको छ । प्रीय २०७५ साल, मेरो यही आसा र अपेक्षा तिमीसँग छ । त्यसैले २०७५ साल तिमी जिवनमा यस्तो भएर आउनु, कि मैले कहि कतै कसैको पनि मन नदुखाउँ, कसैको विषयमा नराम्रो नभनु, कसैको बारेमा नराम्रो नसोचुँ । हरदम सबैको जिवनमा खुशी, सुख र संवृद्धीको कामना गर्न सकुँ । जिवनको अर्को एउटा पानमा तिमीलाई खुशी खुशीका रंगहरुले भर्न सकुँ । ह्रदय विछ्याएर स्वागत तिमीलाई…..

मेरो बाको सपना

IMG_3953
Enter a caption

एउटा सपनाको खोजीमा
अनवरत दौडीयौ
हेक्का राखेनौ त्यो हत्केलाका ठेलाहरु
कयौं पटक फुटेका पैतालाहरुमा
तिमीले धागोले औंला कसेर रगत निकालेको देखें
आफैलाई थिच्ने विशाल भारी बोक्थ्यौ,
बा ! गहुगो छैन भनि सोध्दा
यी भन्दा त मेरा सपना गहौं छन् भन्थ्यौ

अरुले धान फलाउने खेतमा
तिमी सुन फलाउँथ्यौ
माटोसँगको नाता अजम्बरी थियो
विरुवाहरु तिम्रै स्याहारको पर्खाइमा हुन्थे
तिमी हात लगाउँथ्यौ, बोट हलक्क हुन्थे
बा ! तिमाी यो माटोमा के गर्छाै भनी सोध्दा
म मेरा सपनाहरु उमार्दैछु भन्थ्यौ

कयौ रात मचानमा काट्यौ
चुरेको जंगलबाट ल्याएर बाबीयोको डोरी बाट्यौ
त्यही डोरीको पीङ्गमा सपना झुलीरहे
बगेको पसिनाले तिम्रो सपना भिज्न थाल्यो ।
तिमी भौतारीदै पराई भूमीमा गयौ
फेरी चिचिला सपना सम्झीएर आयौ
बा ! तिम्रा सपना किन रंगहिन भनेर सोध्दा
म इन्द्रेणीको रंग भर्दैछु भन्थ्यौ ।

तिम्रा सपनाहरुको मुटु, कलेजो र मृगौला बने
विस्तारै त्यो पूर्ण आकृती बन्यो
तर तिमीले आफ्ना अंगहरु दान गरेको हेक्का राखेनौ
पसिनाले दोहन गरे तिम्रा अंग अंग
शरीर अब खोक्रो हुँदै गयो, चाउरीन थाल्यो
बा ! तिम्रो आँखामा किन आँशु छ भनि सोध्दा
सपनाहरु निचोरेर म आँखाबाट झार्दैछु भन्यौ

जिवनको सतिशाल ढल्नै लाग्यो
सपनाको पछ्याइमा गिन्ती गरिएका सास
अब भगवानको आसमा रह्यो
अन्तिम सास अघि बालाई सोध्न  सकिन
बा ! आफैले भने, छोरी सपना होइन तँ जिवन बाँच

अन्तिम सत्य जान्दा बाले धर्ति छाडे
म मेरा सपनाहरुलाई चिरा चिरा पार्न थाले
बर्तमानमा बाँच्ने प्रेरणा बटुल्दै
अञ्जुलीमा भरेका ति प्यारा सपनाहरुलाई
बाको पार्थीव शरिरसँगै श्रद्धाञ्जली दिएँ
हो, बा ! म जिवन बर्तमानमा बाँच्छु

विद्रोही मन….

धेरै पटक विद्रोहको रांको बालेर हिड्न मन लागेको थियो । अचानक मन नकारात्मक कुराले भरिन्छ । विद्रोह गर्नु, आगो बाल्नु, कसैलाई भौतीक हानी गर्नु शायद नकारात्मक नै भन्छ यो दुनियां । दुनिया वस्तुको अवस्थिती मात्र हेर्छ । त्यो भन्दा गहिराईमा पुग्नै सक्दैन या चाहदैन । समुन्द्रको बाहिरी छालको लहरामा मान्छे दंग पर्छ, तर त्यो छाललाई कसले कति दुरीबाट कति धकेलेर ल्याईपुर्याएको हो सोच्ला र? अहं सोच्दैन । मैले भनिहाले नी मान्छेले विद्रोहको राँको मात्र देख्छ, त्यो राँकोले कतिको मन डढाएको छ, डढाउनुको परिणाम हो भन्ने बुझ्दैन । मलाई विद्रोहीको परिचय बनाउन मन छ । मौनतालाई आफ्नो मन्त्र बनाएर म भित्रभित्रै पिल्सिएकी छु । मनभीत्र भुस भएर आगो सल्किएको छ । मनभीत्रको त्यो भुसको आगो अब आफ्नै मुखबाट बाहिर निकालेर यो दुनियां जलाउन मन लाग्छ । सारा दुनिया सखाप पारेर त्यही खरानीमाथी आत्महत्या गर्न मन लागेको छ ।DSC_2266

म एक्लै जन्मिएको हो, जसरी अरु मान्छे जन्मिन्छन् । शायद जन्मिनुपूर्व आफ्नो हैसियत थाहा पाईन्थ्यो र यो दुनियाको बारे जानकारी हुन्थ्यो भने म पहिले नै विद्रोह गरिसक्थे होला । म जन्मिने थिईन, मलाई पटक्कै मन हुने थिएन । तर वेखबर सुन्दर पालुवा पलाउंदा फुरुक्क हुन्छ, उसलाई के थाहा हुन्छ र कति असिनाले चुट्छ, कति घामले पोल्छ अनि कतिले निमोठीदिन्छन् । त्यस्तै त हुंला म पनि । तर थाहा छैन लाई जन्मदा मैले कुनै सपना बोकेको थिई की थिईन कुन्नी । मलाई याद छैन त्यो समय, त्यो क्षण अनि त्यो अवस्था । कस्तो अचम्म संसारमा जसको सृष्टि हुदैछ, उसैलाई थाहा हुदैन । भगवानले किन यसरी अन्जान पठाउंछन् यस्तो मरुभूमीमा पनि त्यो सुन्दर पालुवा । कसरी फक्रियोस जब की उसलाई कुनै कुराको आभास नै छैन । पहिले आफैलाई बुझ्दैन मान्छे, पहिले अरुलाई चिन्छ, बुझ्छ, आफूलाई त धेरै पछि चिन्छ जब अरुको पहिचान भईसक्छ अनि मात्र । उसको छोरी, उसकी बहिनी, उसकी भाञ्जी, उसकी नातीनी , मेरो सुरुको परिचय यस्तै हो, जसरी अरुको हुन्छ । नाम पनि उसले एघार दीनपछि मात्र पाउछ, जुन उसैलाई थाहा हुदैन । किन यस्तो हुन्छ जिन्दगी जहाँ केही पनि आफ्नो हुदैन, त्यहीबाट शुरु हुन्छ । हो मलाई त्यहीबाट विदोह गर्न मन लाग्छ । तर समय घर्किसक्यो । म अब जन्मिउँ त त्यहींबाट विद्रोह गर्ने थिए । तर फेरी पनि लाग्छ, यो सम्भव हुन्थ्यो र ?

मेरी आमा

कसले देख्यो र भगवान
कसले लेख्यो र भाग्य
जन्मीए जसको कोखबाट मेरो सौभाग्य

सघंर्षकी प्रतिमुर्र्ती तिमी
सहनशीलताकी धर्ती तिमी
मेरो सिंगो जिवनको आकृती तिमी

जिवनको दर्शनद्रष्टि हौ
संसार सागरको स्रष्टि हौ
माया र ममताकी तिमी प्रकृति हौ

रमाउंछ्यौ सन्तान सुखमा
दुखकी तिमी सुदामा
संसारकी मात्रै मेरी एउटी आमा
Image

विन्ति नआउ

कुनैदीन फेरी फर्केर नआउ

विन्ति आग्रह गर्छु बिर्सेर नआउ

 

मलाई सबै बेश नै छ

आफ्नै हाल बेहोश छ

तिमी आफ्नै संसार बनाउ

विन्ति आग्रह गर्छु विर्सेर नआउ

 

लैजाउ खुशी पोको पारी

सजाउ सुन्दर फूलबारी

आफ्नै मायाको धनसार बनाउ

विन्ति आग्रह गर्छु फर्केर नआउ

 

बादलमा चांदी घेरा होस

पीडा र बेदना डेरा होस

खुशी फूल्ने सिमसार बनाउ

विन्ति आग्रह गर्छु फर्केर नआउ

अस्पतालबाटै डाक्टर केसीलाई चिट्ठि

डाक्टर साहेब नमस्कार,

म तपाईं अनशनमा बस्नुभएको टिचिंग विल्डिगकै अर्को पट्टीको विल्डिगमा विरामी बुबाको बेड छेउमा बसेर यो चिट्ठि लेखिरहेकी छु । मलाई थाहा छ, तपाई सिकिस्त हुनुहुन्छ । धेरै दिन भईसक्यो अनशन बस्नुभएको । तपाई खानालाई बहिष्कार गरेर अनशनमा हुनुहुन्छ, तपाईंको वरीपरी डाक्टरहरुको लस्कर छ । तर मेरो बुबा दिनदिनै सुगर बढेर खाना खान नपाउने अवस्थामा हुनुहुन्छ, डाक्टरको अनुहार नदेखेको तिन दीन भयो । नर्सले आएर बेला बेलामा ईन्सुलीन लगाईराख्नुहुन्छ । १० बर्षदेखी सुगरको विरामी मेरो बुबाको सुगर अहिलेसम्म नभएको ५६५ पुगेको छ । अस्पतालमा बसेर यस्तो अवस्था आउदा पनि उपचार छैन । यो कस्तो विडम्बना । बुबा आसावादी नजर लिएर मलाई सोध्नुहुन्छ  डाक्टरहरुको आन्दोलन कहिले सकिन्छ ? म के जवाफ दिउं ।

तपाईले जिवनभर विरामीको सेवा गर्नुभयो । आफ्नो आत्मसम्मान र स्वाभीमानमा कहिं डगमगाउनुभएन । एउटा असल र राम्रो डाक्टरको छवी बनाउनुभएको छ । जिवनभर विरामीको उपचारमा सरीक हुनुभयो । हुन त शिक्षकले विद्यार्थीलाई पढाउनु, डाक्टरले विरामी जांच्नु, उनीहरुको पेशा हो । तर पेशामा पनि ब्यवसायीक र नैतीक अभ्यास नभईदिदा हामी त्यसलाई पनि महान कार्य ठान्छौ । धेरैले पेशालाई ठगी खाने मेलो बनाउने र राजनीतिक भऱ्यांग बनाउने कारण पनि पेशाभीत्रको अब्बल ब्यक्ति सबैको आंखामा पर्छन् । तपाई त्यस्तै सबैले मानेको असल र प्रीय डाक्टर हुनुहुन्छ । विरामीको प्रीय हुनुहुन्छ । हरेक विरामीले तपाईलाई आसाको द्रष्टिले हेर्छ अनि हरेक विरामीका आफन्तले तपाईंमाथी भरोसा गर्छ ।

तपाईले माग गर्नुभएको आफ्नो हिसाबले सही छ । राजनीतिक चंगुलबाट मुक्त हुनुपर्छ अस्पताल । टिचिग अस्पतालको वरीपरी हिंडीरहंदा तपाईको नाममा समर्थन जनाउदै धेरै ब्यानर टांगीएको देख्छु । त्यहा लेखिएको छ कि डाक्टर गोविन्द केसीको आन्दोलन किन भनेर । मलाई पनि सबै बुंदा सही नै लाग्छन् । म त्यही बाटो हुंदै अस्पतालभीत्र छिर्छु जंहा तपाईको नाममा सांझमा मैनबत्ति बालीन्छ । तपाईको स्वास्थ्यको चिन्ता सर्वत्र छ । तर त्यही अस्पतालभीत्र मेरो बुुबा जस्ता कयौ विरामी छन्, जो अलपत्र छन् । सस्तो सरकारी अस्पताल भन्दै दुरदराजबाट उपचारका लागी आएका छन् । मैले भेटेकी छु म्याग्दीबाट आएका १७ बर्षकी मुटु रोगकी किशोरी, त्यही भेटे ८० बर्षकी हजुरआमा जो पेनकीलर खाएर दखाई कम गदै बसीराख्नुभएको छ । त्यहीं अर्को बेडमा सर्लाहीबाट आएका विरामी छन्, जसको परिवार १० दीन भईसक्यो त्यो चिसो भुईंमा सुतेको । दिनको  ८००, १६०० अनि २५०० तिरेर विरामी बसेका छन्, यहां त्यस्ता परिवार छन् जसका लागी एक दिनको अस्पतालको बसाइं जति कमाउन उसले एक महिन खट्नुपर्छ । डाक्टर साहेब धेरै विरामी तपाईले पनि देख्नुभएको होला जसको आर्थिक हालत कस्तो हुन्छ भनेर ।

यहां त्यस्ता विरामीहरु छन् जसलाई यहां के भईरहेको छ भन्ने पनि थाहा छैन । नर्सहरुले भनिदिएका छन् डाक्टर विदामा छन् । उनीहरु प्रार्थना गदैछन् कि आफ्ना डाक्टर छिटै विदाबाट फर्किउन् । उनीहरु चिकित्साशास्त्र अध्ययन संस्थान भन्ने पनि बुझ्दैनन् । एकजना दाई भन्दै थिए डाक्टरको हेडमान्छे राम्रो भएन, फेर्नुपऱ्यो भनेर डाक्टरहरु आन्दोलन गरेका रे । हरेक क्षेत्रमा राजनीतिकरणका कारण गम्भिर समस्या छ । यो जगजाहेर छ । तर त्यसलाई समाधान गर्ने सही तरिका अपनाउनुस् । तपाई आन्दोलनको नेतृत्व लिनुस्, तपाईको पछि हजारै डाक्टर लाग्छन्, लाखौ नेपालीले साथ दिन्छन् । तर विरामीले उपचारको अधिकार नपाउदाको छटपटि तपाईले बुझीदिनुपर्छ । तपाई विरामीकै लागी आन्दोलन गरिरहनुभएको छ, तपाईको आन्दोलनले विरामीलाई नै असर गरेको कुरा तपाईले बुझीदिनुपर्छ । शिक्षकले नपढाएर आन्दोलन गर्दा, त्यसको असर विद्यार्थीलाई पर्छ ।  तसर्थ अनशनको यो आन्दोलन छोडेर विरामीको उपचार गरेरै विशिष्ट खालको आन्दोलन गर्नुस् । आफ्नो स्वास्थ्यको ख्याल गर्नुस् । धेरै पटक विरामीलाई तपाईले पनि यस्तै भन्नुभएको होला । स्वास्थ्य रहे न अरु कुराको महत्व हुन्छ । त्यसैले सही ढंगले आन्दोलन गर्नुस्, ताकि भोली शैयाबाटै विरामी उठेर तपाईको आन्दोलनमा सरीक बुनुन् । आगे तपाईकै मर्जी

उही तपाईकै विरामीको
आशावादी आफन्त

अरु ठाउंमा गरेको एमआरआई उपेन्द्र देवकोटाले देख्दैनन्

मेरो मामाकी छोरी अर्थात मेरी बहिनीको एक महिना अघी अचानक एउटा खुट्टा दुख्न थाल्यो । उसको कम्मर भन्दा तल एउटा खुट्टा मात्र दुख्ने गथ्र्यो, हुंदा हुंदा टेक्नै नसक्ने भई । मामा अत्तिएर विरगञ्जको अस्पतालमा लिएर जानुभयो । डाक्टरले १० वटा सुई लगाएपछि ठिक हुन्छ भने । धेरै कष्ट सहेर १० वटा सुई लगाई तर पनि ब्यथा घटेन । त्यसपछि उसलाई मामाले काठमाण्डौ पठाउनुभयो । प्राय सबै विरामीको मानसीकता नै यही छ कि विकल्प जहिले पनि काठमाण्डौका हस्पिटल हुन्छन् ।
बहिनीलाई नसा सम्बन्धी समस्या भएको निक्र्यौल गरेर नर्भीक हस्पिटलका डाक्टर प्रविण श्रेष्ठलाई देखाउन लिएर गए । डाम्टरको फी रहेछ ३४० रुपैंया, त्यो काठमाण्डौको नाम चलेको हस्पिटलको रेट ठिकै लाग्यो । डाक्टर श्रेष्ठ निकै फरासीला र विरामीसंग अत्यन्तै नजीक भएको महशुश बनाउने खालका रहेछन् । हुन त उनीसंग मैले त्यसभन्दा अघि हजुरआमालाई जंचाउन लगेकी थिए । उनले त्यसबेला पनि आमा कस्तो छ हजुरलाई, अब यो उमेरमा गाह्रो हुन्छ आमा नआत्तिनुस, मैले औषधी लेखिदिएको छु, ठिक भईहाल्नुहुन्छ भनेर यति मिठोसंग कुरा गरे हजुरआमा दंग परेर मुसुक्क हांस्नुभाकोथ्यो । मलाई यस्तो लागको थीयो, हजुरआमाको आधा विरामी सञ्चो भईसकेको छ ।
डाक्टर प्रविणले बहिनीको कम्मरमा नसा च्यापिएको छ, एमआरआई गर्नुस अनि कति च्यापिएको छ थाहा हुन्छ भन्नुभयो । उहांको सल्लाह अनुसार बाहिर आफूलाई अनुकुल हुने एउटा सेन्टरमा एमआरआई गऱ्यौ, त्यसको पैसा रहेछ सांढे १० हजार रुपैया । त्यसपछि श्रेष्ठले औषधी खानुस सकेसम्म अप्रेसन नगरौ थोरै मात्र च्यापिएको छ भन्नुभयो ।
ममाघरमा यही कुरा फोनबाट सुनाउंदा फेरी एक पटक उपेन्द्र देवकोटालाई देखाउने हो कि भन्नुभयो । उहांहरुको मन राख्न बांसबारीको न्युरो हस्पिटलमा नाम लेखाएर बहिनीलाई लिएर गए । विहान १० बजे एउटा डाक्टरले हेर्ने र ४ बजेपछि देवकोटाले हेर्ने नियम रहेछ । म डाक्टरको फी देखेर त एकपटक छक्कै परे ६७५ रुपैयां । तैपनि उपेन्द्र देवकोटाले छोईदिएमात्रै पनि सञ्चो हुन्थ्यो भन्ने मानसीकता बोकेर अस्पताल छिर्नेहरुलाई यो फी पनि ठिकै होला भन्ठाने ।
विहान ११ बजे पालो आयो । हामीसंग एमआरआइई रिपोर्ट थियो, १५ दिन अगाडी गरेको । त्यहां एकजना डाक्टरले सबै चेक गरे । उनले एमआरआई रिपोर्ट हेरे र तपाईंको यहांनीरको यो नशा च्यापिएको छ भनेर हामीलाई देखाए । उनले रिपोर्ट तयार पारेपछि हामी ५ बजेसम्म कुऱ्यौ देवकोटालाई देखाउन । पालो आयो, हामी भीत्र छिऱ्यौ, देवकोटा गमक्क परेर बसेका । उनले बहिनीलाई एकछीन बेडमा पल्टाएर खुट्टामा हाने र हामीसंग भएको एमआरआई रिपोर्ट देखायौं । उनले हेरेजस्तो गरे र भनिहाले यो एमआरआईमा केही देखिएन, यहीं अर्को एमआरआई गर्नुस अनि आउनुस । त्यसपछि बल्ल भनौला भन्दै दुई मिनेटमा पठाईदिए । त्यहं एमआरआई चार्ज सांढे १० हजार । म अचम्म परे विहान एउटा डाक्टरले हेर्दा देखिएको एमआरआई उपेन्द्रले देखेनन् । बाहिर एकजना दिदि आफ्नो सानो बच्चा लिएर निरास मुद्रमा बसीरहनुभएको भेटे । उहांलाई सोधे छोराको हातमा समस्या थियो, बालाजुमा चेक गराएर एमआरआई पनि गरेर यहां आको, देवकोटाले फेरी एमआरआई गर्नुपर्छ भने । उनको त्यो खुईय सुस्केराले भन्दैथ्यो फेरी त्यही एमआरआई गर्ने पैसा मैले कहांबाट ल्याउने होला । किन उनकै हस्पिटलमा गरेको एमआरआई मात्र देख्न सक्छन् देवकोटा ? यसको उत्तर मसंग छैन ।
मेरो मनमा देवकोटा प्रति यसअघि असिम श्रद्धा थियो । मिडियामा धेरै प्रचारबाजी गरिएकोले पनि हुनसक्छ, विरामीका लागी उनी भगवान हुन् भन्ने लाग्थ्यो । तर उनको सेवा पैसावाला विरामीलाई मात्र रहेछ । उनी मात्र पैसा देख्ने रहेछन् । देवकोटालाई थाहा नहुन सक्छ एउटा गरिब नेपालीका लागी ६७५ रुपैया उसको लागी एक महिनाको आर्थिक उपार्जन हुन सक्छ । जम्मा दुई मिनेट विरामी हेर्ने, ब्यवहार पनि यस्तो गर्ने कि उनी भगवान हुन् उनलाई भेट्नु मात्र पनि वैतर्नी नदी तरेजस्तो हुन्छ भन्ने उनको सोचले म अचम्मित बने । पहिलोपटक देवकोटाको अस्पताल, विरामीको भीड, उनको रवाफ र निर्देशनले म अवाक भए । उनले धेरै विरामी ठिक गरेका छन्, त्यो उनको पेशागत धर्म हो, तर उनीप्रतिको म भीत्रको श्रद्धा भने त्यसैदीन देखी मरेर गयो ।

उसको त्यो आग्रह

एका विहानै अफिसको गेटबाट छिर्दै थिए । विकासे संसथाहरु अर्काले दिएको डोनेसनमा चल्ने न हन् । ठुलो कम्पाउण्ड बनाएका छन् । तिनवटा एकतलाका विल्डिगं छन् । म बस्ने अफिस पछाडीपटटीको भएकोले अर्को विल्डिगलाई बाया पारेर अफ्नो अफिस छिर्दै थिए । एउटीले मलाई बडो नम्र भएर गुड मर्नीग भनी । मैले पनि मर्नीग, हाउ आर यु भने । आई एम फाईन भन्दै  उसले मलाई आंखाले ईशारा गरी नजीक आईजन भने जसो गरी । म संग कुरा गर्न खोजेको हो भन्दै म नजीक गए । उसलाई मैले यो अफिसमा जम्मा दुईपटक मात्र भेटेको थिए त्यसअघि । पहिले भेट एउटा वर्कशपमा भएको थियो । त्यसबेला म अब यही ईनटर्न गर्ने हो भन्दै थिई । पहिलो भेटदेखी नै उ म संग नजीक भएजसरी कुरा गरेकी थिई । म नजीक गएपछि उसले सोधी, तं नेपालबाट है, तेरो देश कस्तो छ ? मैले भने मेरो देश सानो छ तर अत्यन्तै  सुन्दर छ । जीवन एकदम सहज छ । तिमीहरुकोमा जस्तो महंगी छैन । जीवन बांच्न सजीलो छ । थोरै आम्दानीमा पनि जिवन सजीलो गरी चल्छ । म यस्तै यस्तै कुरा गदै थिए । उ पातली चिटिक्क ज्यान परेकी थिई, अनुहार हेर्दा र उसंग कुरा गर्दा कता कता हाम्रै गाउंकी राम्री थरुनी जस्ती लाग्थी । काली भनेर खासै काली पनि थिईन । उसले अचानक सोधी एउटा प्रश्न,  होईन आग्रह गरी भनौ–“मलाई तेरो देशको ब्वाईफेण्ड खोज्देन है” । लौ म त छक्कै परे । एकैछीन मुसुक्क हासे। यसले ठट्टा पो गरेकी हो की भनेर । तर उ झ्न गम्भिर बनी । मलाई फसाद पऱ्यो । मैले के भनेर सम्झाउने उसलाई । म एउटा अनपेक्षित घडीमा परे । उसलाई मैले ठिकै छ, कोही रहेछ अफ्रिकन केटी विहे गर्न ईच्छुक भने तलाई भनौला नी है भनेर म आफ्नो अफिस गए । अब मेरो दिमागमा अघिको उसको मासुम आग्रह घुमीराख्यो । कतिखेर हासो पनि लाग्यो । कतिखेर गम्भिर पनि बनायो । गोरो मान्छेसंग विहे गर्न पाए हुन्थ्यो भन्ने उसको ईच्छालाई म गलत भन्न पनि सक्दिन थिए । म सोचीराछु कोही होला त उसलाई मिल्ने ब्वाईफेन्ड ।

जन्मदिनमा सम्बोधन तिमीलाई

तिमी सृष्टीकर्तालाई

सानो छदां सुन्ने गर्थे अग्रजहरुबाट कि मान्छेले ८४ जुनी पाउंछ रे । हाम्रो हजुरबुरबा भन्ने गर्नुहुन्थ्यो त्यो सबैभन्दा राम्रो जुनी भनेको मान्छेको हो त्यसैले सबै जुनीको पापबाट मुक्ती पाउन सक्ने यो जुनीमा जतिसक्यो पुण्य काम गर्नुपर्छ । मेरो बाल मस्तिष्कमा यही छाप दिने मेरो हजुरबुबा त अहिले यो संसारमा हुनुहुन्न । तर उहांले दिएको यो ज्ञानले मेरो तन मन र दिमागमा सकारात्मकता भरीदिएको छ । म ईश्वरीय शक्तिमा विश्वास गर्छु । मन्दीर देखीएमा भगवानलाई धन्यावाद दिन कहिल्यै भूल्दिन । उठेपछि र सुत्नु अगाडी भगवानलाई सम्झने मेरो दैनीकी हो । त्यसैले यो जन्म दिने भगवानलाई मेरो जन्मदिनमा पनि सदाझै सम्झना गरे । कि्रष्चियन र मुस्लिमहरुको मुलुक अफि्रकामै भएपनि म संग भगवानको तस्विर र दियो छ । विहानै दियो जलाएर भगवानलाई धन्यवाद दिए । जन्मुनमा खुशी मनाउनुपर्ने उल्लेख्य केही छैन जिवनमा । ठुला उपलब्धि पनि केही छैन तर पनि मान्छेको जुनी पाउनुमा नै भाग्यमानी सम्झदै खुशी भए यो जिन्दगीमा ।

जसको कोखबाट म जन्मिए

परिवारको माईलो सन्तानको रुपमा जन्म पाए । त्यसमाथी पनि दोस्रो छारी । दुई मात्र सन्तान हुनुपर्ने चाहनामा छोराको आकांक्षा पुरा गर्न नसकेकै हो । म अपेक्षा वीपरित छोरी भएर जन्मिए बुबाआमाको लागी अनि आफ्ना आफन्तका लागी । मलाई थाहा छैन थाहा हुने कुरा पनि भएन त्यसबेला तर म सबैलाई खुशी बनाएर जन्मिएकी पक्कै थिईन । आफ्नै मुटुको टुक्रा झिकेर बाहीर हातमा खेलाउंदा आमालाई जति सन्तुष्टि भयो होला अरुलाई त्यसले अर्थ राखेन शायद । तर पनि सबै औलाको माया बराबार भने झै बुबाआमाको माया बढ्दै गयो झंागीदै गयो । अहिले पनि त्यो क्रम उस्तै छ । म भाग्यामानी महशुश गर्छु आफुलाई जसको कोखबाट मैले जन्म पाए । बुबाआमाको नजीकको सन्तान हुं । मेरो भगवानपछिको प्रँर्थना उहांहरुकै लागी हुन्छ मैले सकेजति खुशी दिन सकु । मेरो कारणले कहिल्यै त्यो आंखामा आंशु नआओस । प्रत्येक दिनको अठोट उस्तै छ म जहां रहेपनि जस्तो अवस्थामा रहेपनि । जन्म दिनेलाई दुख दिने मलाई त्यो अधिकार मेरो मनले िदंदै दिदैन अहं दिनै सक्दैन । त्यसैले मेरो कर्तब्य थियो विहानै फोन गरे आमालाई र सोधें तपाईले सम्झनुभो आज के दिन हो  त्यो बर्ष त्यो दीन त्यो क्षण अनि त्यो समय कुनचाही आमाले भुल्न सक्थिन र जिन्दगीमा । आमाले सम्झनुभयो म खुशी भए । हो तपाईले दुख गरेर जन्माएकी छोरी आज यति ठुली भएर तपाईलाई त्यो दीन सम्झाउदैछे । बुबाआमासंगको त्यो कुराकानीले मलाई दिनभर खुशी बनायो अनि उहांहरुले दिनुभएको आशिर्वाद र शुभकामनाले फेरी उर्जा थपिदियो यो टाढाको जिवनमा ।

मेरा आफन्त र मित्रहरुलाई

कतिले सम्झिए कतिले विसर्ीए । सबैले सबैको जन्मदीन सम्झने कुरा पनि भएन । सम्झीएनन् भनेर गुनासो गर्नु पनि आफैमा अनौठो हो । जन्म दिनमा धेरै साथीहरुले शुभकामना दिए । धेरैलाई सामाजीक संजालले सम्झना गराईदियो । शब्द एउटै छ तर त्यसको मूल्य अमूल्य छ । शुभकामना शब्दले मात्रै पनि मनमा खुशी भरीने रहेछ । मान्छेलाई कति धेरै नजीक बनाईदिएको छ यी प्रविधिले । सबैजनाको शुभकामनाले भरिएको शब्दहरु कति मिठो लाग्ने रहेछ । कति अग्रजहरुले शुभकामना दिनुभयो अनि कति आफूभन्दा सानो उमेरकाले दिनुभयो । कसैले दिदी भन्नुभयो कसैले बहिनी भन्नुभयो कसैले कल्पनाजी भन्नुभयो कतिले सम्बोधन गर्ने शब्द नै भेट्नुभएन । तर शुभकामना उस्तै प्यारो थियो मेरो लागी ।  यति धेरै मान्छेको शुभकामना पाउंदा लाग्दोरहेछ म कति भाग्यमानी छु । त्यो चोखो मनले मलाई शुभकामना दिनुहुने सम्पूर्ण आफ्ना आफन्त र मित्रहरुमा हादीक धन्यवाद नदीई रहन सकिन । अफि्रकी मुलुकमा मन बुझाउन गाह्रो भईरहेको बेला धेरै सहानुभूतीको महशुश भयो । यतिका धेरै शुभचिन्तक आफ्नो साथमा छन् भनेर जानेपछि मन खुशी नहुने कुरै भएन । तसर्थ मेरो यो खुशी तपाईहरु सबैमा साटेकी हुं । फेरी पनि मनैदेखी धन्यवाद तपाई सम्पूर्णलाई ।