All posts by meroimagine

About meroimagine

Work in media industry

तिम्रो प्रेम


निष्पट्ट अँध्यारोमा 

क्षितिज पारीको जुनलाई मैले

केवल एक अञ्जुली उज्यालो मागेको थिएँ

बाटो हराएन कतै भने

फर्कीआउँछु भनिकन

देउरालीमा दुई फूल चढाएको थिएँ।

समयले हुत्याएर पर पुर्याएपनि

चौतारीमा एक्लै वर उभिएपनि

म हिंडिरहेको बाटोको

सहि गन्तब्य हौ तिमी

म निष्फिक्री चरा तर 

मौन मन्तब्य हौ तिमी।

रहरहरुलाई पखेटा दिने

चाहनाहरुलाई पालुवा दिने

एउटा अद्भुत सतिसाल जस्तै

मेरो प्रेमको सागरलाई

मायाको बर्को ओढाएर राख्ने

तिम्रो प्रेम

सिंगो आकास जस्तै ।

आजभोली जुन 

मेरै हत्केलामा बोकेर हिंडेको छु

सुन्दर फूलहरुको बगैंचामा

म हरदम फुलिरहँदा 

यस्तो लाग्छ 

निष्पट्ट अँध्यारोमा 

क्षितिज पारीको जुनलाई मैले

केवल एक अञ्जुली उज्यालो मागेको थिएँ

बाटो हराएन कतै भने

फर्कीआउँछु भनिकन

देउरालीमा दुई फूल चढाएको थिएँ

समयले हुत्याएर पर पुर्याएपनि

चौतारीमा एक्लै वर उभिएपनि

म हिंडिरहेको बाटोको

सहि गन्तब्य हौ तिमी

म निष्फिक्री चरा तर 

मौन मन्तब्य हौ तिमी

रहरहरुलाई पखेटा दिने

चाहनाहरुलाई पालुवा दिने

एउटा अद्भुत सतिसाल जस्तै

मेरो प्रेमको सागरलाई

मायाको बर्को ओढाएर राख्ने

तिम्रो प्रेम

सिंगो आकास जस्तै 

आजभोली जुन 

मेरै हत्केलामा बोकेर हिंडेको छु

सुन्दर फूलहरुको बगैंचामा

म हरदम फुलिरहँदा 

यस्तो लाग्छ 

संसारको उज्यालो नै म हुँ

माया मारी जिन्दगीको

बिसाउन ठाउँ छैन भारी जिन्दगीको

खनीखोस्री बसेकी छु बारी जिन्दगीको ।

एक झुल्को घाम छैन,बास दिने ओत छैन

थेग्नु मैले कसो गरी झरी जिन्दगीको ।

भिर पाखा घुम्तीहरु अनकन्टार उस्तै

जसोतसो चल्दैछ सवारी जिन्दगीको।

चिन्ता मात्रै सँधैभरी यसो हो कि उसो

बाँच्नै पर्ने रैछ माया मारी जिन्दगीको।।

नितान्त ब्यक्तिगत

प्रीय बर्ष २०७४ साल,
मान्छेले बनाएको समयको यो भागमा तिमी २०७४ साल भनेर नामकरण भएका छौ, होइन भने सृष्टिको नीयममा दिन र रातसहीतको क्षणमात्र बर्गीकरण हो भन्ने मलाई लाग्छ । तिम्रो ३६५ वटा दिनमा आज अन्तिम रात म यो सम्बोधन गर्दैछु । मनभरी बसेको, आँखा भरी सजिएको अनि मुटुभरी छाएको यादहरुको समर्पण तिम्रो नाममा । जिन्दगीका हरेक बर्षहरु भन्दा पृथक, प्रष्ट र प्रत्युष जस्तै बन्यौ । जन्मेदेखी मृत्यु सम्मको दुरीमा थाहा छैन मलाई, तिम्रो अस्तित्व जिन्दगीको कुन भागमा छ, तिमी बिचमा छौ या अन्तिममा छौ । तर म यत्ती भन्न सक्छु जिवनको एक अंहम र महत्वपूर्ण बर्ष हौ तिमी । जिवनमा केही यस्ता समय वा घटना हुन्छन्, जुन बर्षौ बितेपनि हिजो अस्ति झैं लाग्छ अनि केही यस्ता हुन्छन् जुन हिजो अस्ति घटेपनि यादबाट सयौं दुरी टाढा रहन्छन् । यी दुवै स्थिती र परिस्थीती तिमीले दिएर गएका छौ । सागरको खोँचदेखी सगरको उचाई सम्म पुर्याएका छौ । कति विषयमा जिवनले गहनता हासील गर्यो । कतिमा जिवन सतहमा मात्र रह्यो । कतिमा जिवन आफै डुबुल्की मार्यो । यो सब तिमीले दियो ।
बषौैदेखीका कतिपय मान्यताहरु आँखा अगाडी धुजा धुजा भए । वरीपरी मजबुत बनाएर राखेका विश्वासका पर्खालहरु पनि एक एक गरेर झरे । अनि आफैले हिँडेर आएको बाटो फर्केर हेर्दा आफै झस्किएँ । कहिलेकाहीँ जिवनमा सबैतीर अन्धकार हुँदा पनि आफैमाथीको विश्वासको तेजले एउटा आसाको बाटो देखाउँछ । हो म त्यही आसाको बाटो पछ्याउँदै हिँडे । जिवनमा कहिँ कतै प्राथमीकतमा नपरेका सामान्य ठानेका मान्छेहरु साँच्चै सह्रदयी र सहयोगी भएर आए । कसैले देखाएको आत्मियता र सह्रदयताको विशाल छातीले आकासको आयतनलाई पनि कम आँकीरहेको थियो । जिवन सिकाई र भोगाइहरुको संगालो न हो । कतै खुशी कतै दुख कतै सफलता कतै असफलता । यी र यस्तै यती धेरै सोच्ने र भोग्ने विषय हुन्थेन भने मान्छेको जिवन कसरी चल्थ्यो होला र । यो सबै यात्रामा कतिपय अवस्थामा आफ्ना आशयलाई अरुले अनर्थ लगाइदिँदा चित्त दुख्छ, आफ्ना ब्यवहारलाई अनुकुलतामा ब्याख्या गरिदिदा मन दुख्छ । म चाहीँ कोही कसै भन्दा फरक कसरी हुन्थेँ र । त्यसैले यती लाग्छ जिवनमा कोही कसैलाई राम्रो गर्न सकिदैन भने म नराम्रो गर्दीन, राम्रो भन्न सक्दिन भने पनि म नराम्रो भन्दीन, राम्रो सोच्न सक्दिन भने पनि म नराम्रो सोच्दीन ।
२०७४ सालले जिवनलाई केही फरक लयमा लगेको छ । वस्तु, घटना र समयलाई हेर्ने द्रष्टि दरिलो भएको छ, सोच सुद्रढ भएको छ, मन द्रढ भएको छ । प्रीय २०७५ साल, मेरो यही आसा र अपेक्षा तिमीसँग छ । त्यसैले २०७५ साल तिमी जिवनमा यस्तो भएर आउनु, कि मैले कहि कतै कसैको पनि मन नदुखाउँ, कसैको विषयमा नराम्रो नभनु, कसैको बारेमा नराम्रो नसोचुँ । हरदम सबैको जिवनमा खुशी, सुख र संवृद्धीको कामना गर्न सकुँ । जिवनको अर्को एउटा पानमा तिमीलाई खुशी खुशीका रंगहरुले भर्न सकुँ । ह्रदय विछ्याएर स्वागत तिमीलाई…..

मेरी आमा

 

अग्राखको काठ
आगोमा जलेर खरानी हुन सक्छ
तर म आफ्नो अस्तित्व
त्यही एक चिम्टि खरानीको धुलोमा पाउँछु
त्यती कमजोर म काहाँ छु र
तर तिनीहरुलाई थाहा छ
तिमी मात्र मेरो कमजोरी हौ
त्यसैले त पटक पटक प्रहार गर्छन् तिमीलाइ
र मलाई दुखाउन खोज्छन् ।

म सोच्थेँ
तिमीलाई पनि म जस्तै बनाउनु छ
किनकी तिमी कमजोर त हुनै सक्दैनौ
तिमीले त हातमा आगोको ज्वाला बोकेर
आफ्नै जीवनको चित्तामा आगो लगाइसकेकी छौ
हेर त
कति हिम्मत छ तिम्रो
तर तिनीहरु भ्रममा छन्
र ठान्छन्, तिमी सजिलै दुख्छौ
म चाहन्छु
त्यो द्रष्टिभ्रमको पर्दा च्यातीयोस अब
सोच त
जीवनका आरोह अवरोहमा
सँधै उच्च रहेकी तिमी
मेरो प्रेरणा
मेरो भरोसा
मेरो आकांक्षा
अनि मेरो सर्वश्व
मेरो जीवनकै एक अहंम मान्छे
म भन्दा कमजोर त कसरी हुन्छ
अँह यो ते इश्वरले पनि मान्दैनन्
आमा,
म त तिम्रै पेटबाट
तिम्रै रगतबाट
बनेको मान्छे हुँ

आजभोली,
तिमीमा आएको चेतनाको राप
तिमीमा बलेको विश्वासको ताप
तिमीले देखाएको आत्मविश्वास
तिमीले बोकेको अदम्य साहस
देखेर म नतमस्तक छु
कामना चिरस्थायीको

म यस्तो मान्छे

म त इन्द्रेणीको रंग खोसेर हिँडेको मान्छे !
म त अाँधिमै आगो झोसेर हिँडेको मान्छे !!

तिमी तर्साउँछौ बन्दुकको नाल देखाउँदै !
म त छातिमै बारुद भरेर हिँडेको मान्छे !!

दुख्नु र दुखाउनुको अर्थ केही छैन साथी !
म त आँखामै समुन्द्र बोकेर हिँडेको मान्छे !!

माया, प्रेम, सद्भाव नखोज कहिल्यै म भित्र !
म त मुटुमै पत्थर ठोकेर हिँडेको मान्छे !!

 

आफ्नै विश्वासको ओजमा जीवन

न कसैको आशिषमा चल्यो, न कसैको आरिसले जल्यो !
इमान र स्वाभीमानको तेल थपेँ, र त आँधीहुरिमा बल्यो !!

कोमल निश्चल आवरणमा अवरोधका धारिला तरबार थिए !
धारैमा रेटिएँ, न आँट डगमगायो न कुनै प्रलोभनमा गल्यो !!

आरोह अवरोह बिना त बाँच्नुको के मजा हुन्थ्यो र जीवन !
आफै माथिको विश्वास न कहिल्यै झर्यो न कहिल्यै ढल्यो !!

तिखारिएका काँडाहरु पाइलैपिच्छे नघोचेका त कहाँ हुन् र !
बसन्त त मेरै थियो, निर्झन शिशिरमा नि ढकमक्क फुल्यो !!

फरक छ आमा हिजो र आज

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो सन्तानले पेटमा लात्ताले नहान्दा दुखी हुन्थ्यौ
आज त्यही सन्तानले पेटमा लात्ताले हान्दा दुखी हुन्छ्यौ

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो प्रसव पिडाको बेला उ नरुँदा दुखी हुन्थ्यौ
आज जिवन उत्तराद्र्धमा उ रोए दुखी हुन्छ्यौ

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो ताते भन्दै हात समाउँदै हिंड्न सिकायौ
आज उ हिँडेरै तिमीबाट कोशौं टाढा गयो

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो तोते बोलेर आमा शब्द सुन्दा विव्हल हुन्थ्यौ
आज त्यही शब्द सुन्न नपाएर विव्हल हुन्छ्यौ

फरक यत्ति छ आमा हिजो र आजमा
हिजो सन्तानको खातिर तिमी बाँच्थ्यौ
आज सन्तान अर्कैैको खातिर बाँच्दछ
– कल्पना भण्डारी

मेरो बाको सपना

IMG_3953
Enter a caption

एउटा सपनाको खोजीमा
अनवरत दौडीयौ
हेक्का राखेनौ त्यो हत्केलाका ठेलाहरु
कयौं पटक फुटेका पैतालाहरुमा
तिमीले धागोले औंला कसेर रगत निकालेको देखें
आफैलाई थिच्ने विशाल भारी बोक्थ्यौ,
बा ! गहुगो छैन भनि सोध्दा
यी भन्दा त मेरा सपना गहौं छन् भन्थ्यौ

अरुले धान फलाउने खेतमा
तिमी सुन फलाउँथ्यौ
माटोसँगको नाता अजम्बरी थियो
विरुवाहरु तिम्रै स्याहारको पर्खाइमा हुन्थे
तिमी हात लगाउँथ्यौ, बोट हलक्क हुन्थे
बा ! तिमाी यो माटोमा के गर्छाै भनी सोध्दा
म मेरा सपनाहरु उमार्दैछु भन्थ्यौ

कयौ रात मचानमा काट्यौ
चुरेको जंगलबाट ल्याएर बाबीयोको डोरी बाट्यौ
त्यही डोरीको पीङ्गमा सपना झुलीरहे
बगेको पसिनाले तिम्रो सपना भिज्न थाल्यो ।
तिमी भौतारीदै पराई भूमीमा गयौ
फेरी चिचिला सपना सम्झीएर आयौ
बा ! तिम्रा सपना किन रंगहिन भनेर सोध्दा
म इन्द्रेणीको रंग भर्दैछु भन्थ्यौ ।

तिम्रा सपनाहरुको मुटु, कलेजो र मृगौला बने
विस्तारै त्यो पूर्ण आकृती बन्यो
तर तिमीले आफ्ना अंगहरु दान गरेको हेक्का राखेनौ
पसिनाले दोहन गरे तिम्रा अंग अंग
शरीर अब खोक्रो हुँदै गयो, चाउरीन थाल्यो
बा ! तिम्रो आँखामा किन आँशु छ भनि सोध्दा
सपनाहरु निचोरेर म आँखाबाट झार्दैछु भन्यौ

जिवनको सतिशाल ढल्नै लाग्यो
सपनाको पछ्याइमा गिन्ती गरिएका सास
अब भगवानको आसमा रह्यो
अन्तिम सास अघि बालाई सोध्न  सकिन
बा ! आफैले भने, छोरी सपना होइन तँ जिवन बाँच

अन्तिम सत्य जान्दा बाले धर्ति छाडे
म मेरा सपनाहरुलाई चिरा चिरा पार्न थाले
बर्तमानमा बाँच्ने प्रेरणा बटुल्दै
अञ्जुलीमा भरेका ति प्यारा सपनाहरुलाई
बाको पार्थीव शरिरसँगै श्रद्धाञ्जली दिएँ
हो, बा ! म जिवन बर्तमानमा बाँच्छु

विद्रोही मन….

धेरै पटक विद्रोहको रांको बालेर हिड्न मन लागेको थियो । अचानक मन नकारात्मक कुराले भरिन्छ । विद्रोह गर्नु, आगो बाल्नु, कसैलाई भौतीक हानी गर्नु शायद नकारात्मक नै भन्छ यो दुनियां । दुनिया वस्तुको अवस्थिती मात्र हेर्छ । त्यो भन्दा गहिराईमा पुग्नै सक्दैन या चाहदैन । समुन्द्रको बाहिरी छालको लहरामा मान्छे दंग पर्छ, तर त्यो छाललाई कसले कति दुरीबाट कति धकेलेर ल्याईपुर्याएको हो सोच्ला र? अहं सोच्दैन । मैले भनिहाले नी मान्छेले विद्रोहको राँको मात्र देख्छ, त्यो राँकोले कतिको मन डढाएको छ, डढाउनुको परिणाम हो भन्ने बुझ्दैन । मलाई विद्रोहीको परिचय बनाउन मन छ । मौनतालाई आफ्नो मन्त्र बनाएर म भित्रभित्रै पिल्सिएकी छु । मनभीत्र भुस भएर आगो सल्किएको छ । मनभीत्रको त्यो भुसको आगो अब आफ्नै मुखबाट बाहिर निकालेर यो दुनियां जलाउन मन लाग्छ । सारा दुनिया सखाप पारेर त्यही खरानीमाथी आत्महत्या गर्न मन लागेको छ ।DSC_2266

म एक्लै जन्मिएको हो, जसरी अरु मान्छे जन्मिन्छन् । शायद जन्मिनुपूर्व आफ्नो हैसियत थाहा पाईन्थ्यो र यो दुनियाको बारे जानकारी हुन्थ्यो भने म पहिले नै विद्रोह गरिसक्थे होला । म जन्मिने थिईन, मलाई पटक्कै मन हुने थिएन । तर वेखबर सुन्दर पालुवा पलाउंदा फुरुक्क हुन्छ, उसलाई के थाहा हुन्छ र कति असिनाले चुट्छ, कति घामले पोल्छ अनि कतिले निमोठीदिन्छन् । त्यस्तै त हुंला म पनि । तर थाहा छैन लाई जन्मदा मैले कुनै सपना बोकेको थिई की थिईन कुन्नी । मलाई याद छैन त्यो समय, त्यो क्षण अनि त्यो अवस्था । कस्तो अचम्म संसारमा जसको सृष्टि हुदैछ, उसैलाई थाहा हुदैन । भगवानले किन यसरी अन्जान पठाउंछन् यस्तो मरुभूमीमा पनि त्यो सुन्दर पालुवा । कसरी फक्रियोस जब की उसलाई कुनै कुराको आभास नै छैन । पहिले आफैलाई बुझ्दैन मान्छे, पहिले अरुलाई चिन्छ, बुझ्छ, आफूलाई त धेरै पछि चिन्छ जब अरुको पहिचान भईसक्छ अनि मात्र । उसको छोरी, उसकी बहिनी, उसकी भाञ्जी, उसकी नातीनी , मेरो सुरुको परिचय यस्तै हो, जसरी अरुको हुन्छ । नाम पनि उसले एघार दीनपछि मात्र पाउछ, जुन उसैलाई थाहा हुदैन । किन यस्तो हुन्छ जिन्दगी जहाँ केही पनि आफ्नो हुदैन, त्यहीबाट शुरु हुन्छ । हो मलाई त्यहीबाट विदोह गर्न मन लाग्छ । तर समय घर्किसक्यो । म अब जन्मिउँ त त्यहींबाट विद्रोह गर्ने थिए । तर फेरी पनि लाग्छ, यो सम्भव हुन्थ्यो र ?